"भोलि आउँदा एउटा गुलाफको फूल ल्याउन नबिर्सिनु नि", मालिकले नोकरलाई अर्हाए जस्तै गरि अर्हाएकी थिई मलाई।
बिर्सिन्छु कि भनेर मोबाइलमा रिमाइन्डर राखी अर्कोदिन बिहानै एउटा गुलाफको फूल लिएर गएको थिएँ उसलाई भेट्न।
गुलाबी कलर कै टिसर्ट,निलो जिन्स पेन्टमा टिपटप भएर आएकी थिइ ऊ।कालो गाजल लगाएको आँखामा घोरिएर एकछिन सम्म हेरेको थिए।लुकाएर लिएर आएको गुलाफ उसलाई दिन अगाडि तेर्साएको थिएँ।
"अह!यसरी त हुन्न।फिल्ममा हिरोले जस्तै गरि दिइस्यो न"लाडिदै भनेकी थिई उसले।
"आइ लभ यु",उसको करपछी घुँडा टेकेरै भनेको थिएँ मैले।
"म त गर्दिन के रे माया साया!तर यति मायाले कसैले दिएपछि त लिनै पर्यो नि"खित्का छोडेर फूल समातेकी थिई उसले।
"ठिकै छ,एकतर्फी माया मेरो।"मुख बिगारे झै गरेर भनेको थिएँ।
"धत्त!हजुरलाई त म यति धेरै माया गर्छु नि।ल बरु यो मेरो कपालमा राख्दिस्यो त नखस्ने गरि।"पिठ्युँ म तिर फर्काउदै भनेकी थिइ।
यसरी नै प्रत्येक पटक उसलाई भेट्न जादा गुलाफको फूल लिएर जानू पर्ने नियम जस्तै थियो।अनि मेरै हातले त्यो फूल उसको केशमा सजाइदिनु पर्थ्यो। सुन्दरताको हद पार गर्थी उसले,लाग्थ्यो त्यो फूल उसकै शिरको लागि बनेको हो।
तर जसरी फूल ओइलाएर झर्छ,त्यसरी नै हाम्रो प्रेम ओइलाएर झर्यो।रङ बद्लियो,आकार बद्लियो अनि हरायो सुवास,जसरी हराउँछ ओइलाएको गुलाफको।एक बिरुवालाई जति समय लाग्छ वयस्क बोट बन्न त्यति समयसम्म त ऊ हराइसकेकी थिइ मेरो जिन्दगीबाट।
आज,थुप्रै वर्ष पछि हामी एक अर्काको अगाडि खडा थियौं।हाम्रा आँखा जुधे,बस् केही समयको लागि।उसको कालो केशमा ताज जस्तै गरि सजिएको गुलाफमा मेरो नजर परिसकेको थियो,तर म केही बोलिन।उसले पनि थाहा पाइसकेकी थिइ,म चुप हुनुको कारण।
"उहाँलाई पनि गुलाफ एकदमै मन पर्छ"शिर निहुराएर कुनै प्रश्न बिना जवाफ दिई उसले।उसको उत्तर त्यो फूलको काडा भन्दा तीखो थियो।मेरो मुटु छेड्यो।केही बोल्न सकिन म।अह,एक शब्द पनि सकिन।उसलाई एकपटक गहभरी आँसु बनाएर हेरे अनि केही नभनी त्यहाँबाट ओझेल भएँ।
![](https://i.ytimg.com/vi/ZBp0QSsjq0U/mqdefault.jpg)